Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


केएमसीले नेपालमै पहिलो पटक सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

एक्सन खबर
पौष, २६, २०७९


केएमसीले नेपालमै पहिलो पटक सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

काठमाडौं, २६ पुस । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।

नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ डा. नेपालले भने ।

जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउँनेछ ।

गम्भीर प्रकारको मस्तिष्कघात भएका विरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ । जटिल अवस्थाको भास्कुलर र न्यूरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ । मुटुको अप्रेशन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ । यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ । यहाँ ५५ इन्चको स्क्रीनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन् ।

अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुने चिकित्सकहरुको भनाई छ । केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा विस्तार गरिरहेको छ । सफल मेडिकल व्यवसायीका रुपमा ख्याती कमाएका डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले फड्को मारेको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिइसकेका छन् । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका डा.शर्मा चुनाव जितेर सांसद बनिसकेका छन् ।
















0 प्रतिकृया