Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


माघे संक्रान्ति, मकर सक्रान्ति, माघी पर्व कुन समुदायले कसरी मनाउँछन् ?

एक्सन खबर
माघ, १, २०७९


माघे संक्रान्ति, मकर सक्रान्ति, माघी पर्व कुन समुदायले कसरी मनाउँछन् ?

काठमाडौं, १ माघ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर सङ्क्रान्ति' पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ ।

त्यस्तै उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ ।

माघे सङ्क्रान्तिका दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ । माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो लाग्नुका साथै मित्रराष्ट्र चीन र भारतका व्यापारीहरूले समेत मेलामा पसल राख्ने गरेकाले मेलाको व्यापारिक महत्त्व छ । उक्त मेलामा धान नाच, चण्डी नाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ ।

झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँचदिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ ।

सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।

यस पर्वलाई तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ ।

मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् । कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ ।

यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ ।

नुवाकोटको तारूकामा प्रत्येक वर्ष माघ १ गते वा माघे सङ्क्रान्तिका दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ । यो मेला अन्तर्गत तारुका गाविस वडा नं. ५ चन्दनी गाउँ रहेको एक बारीको ठूलो पाटोमा गोरूहरू जुधाउने गरिन्छ । यस गोरु जुधाइ मेलाले नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको छुट्टै ऐतिहासिक महत्त्व बोकेको छ ।

दैलेख लगायत पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ । यस क्षेत्रमा मकर सङ्क्रान्तिलाई चेलीत्यार भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर (सेलरोटी), पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ ।

माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर पोइल गइसकेका चेलीहरूलाई पनि पोका पुगाउन जाने चलन छ । यदी मकर सङ्क्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिना भित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुगाउने चलन छ ।

माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो । कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् ।

देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्त्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्त्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ ।

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी -पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ ।

माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारू भाषामा 'निसराउ' भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् ।

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । हुन त यो प्रचलन नयाँ होइन ।

नेपालका मगर जातिहरू बीच माघे सङ्क्रान्ति लाई मुख्य पर्वको रूपमा धुमधाम सँग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिको रौनकका सुरू गर्छन् । वन-तरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन् । घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर-तरुल खनेर तयारी गर्छन् । अबेर वन-तरुल लिएर फर्केका पाइहरू रात भरर तरुलपकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोज पकाउनुमा व्यस्त हुन्छन् ।














0 प्रतिकृया