"आमा ! कति पटक बलात्कृत भयौ" !?
"आमा ! कति पटक बलात्कृत भयौ" !?
हेमन्त गिरी
आमालाई सोधें,
आमा जीवनमा कति पटक
बलात्कृत भयौ ?
आमा हत्पत बोलिन,
के नचाहिंदो कुरा गर्छ यो ?
नढांट न आमा ,
एक एक हिसाब मैले राखेको छु
तिम्रो प्रत्येक कष्टको
पिडा मैले नापेको छु !
हजूरआमाले बान्ता गरेको दिन
हजूरबाले भनेका थिए रे,
'लगालग छोरी पाउन पाइन्न
नत्र मलाई तँ नै चाहिन्न,
यसपाली मलाई छोरै चाहिन्छ
मर्दका हजार हुन्छन,अर्की ल्याइन्छ !'
थाहा पायौ कि पाइनौ कुन्नी आमा,
हजूरआमाले आंशु र बान्ता
एकै चोटि फाल्दा
हजूरआमाको पेट भित्र,
हजूरबाका वचनले
तिमी पहिलो पटक बलात्कृत भयौ !
हजूरआमाले प्राण त्यागेर
तिमी जन्मिंदाको दिन,
हजूरबाले तिम्रो मुख मुस्किलले हेरे अरे !
हजूरआमाको लास डढेको महिना दिनमा
हजूरबाले नयाँ दुलही फेरे अरे !
थाहा पायौ कि पाइनौ आमा,
महिना दिन भित्रै
महिनादिनकी तिमी
दुई पटक आफ्नै बाबुबाट
बलात्कृत भयौ !
कुरा पनि कस्ता ?
आमा टोक्ने पनि तिमी रे,
अनि निसाफ फेरि कस्ता ?
सौते भाईको
भारी बोक्ने पनि तिमी रे !
लच्छिन-अलच्छिनको प्रयोगशालामा
तिम्रा सपनाहरुको निर्मम वधशालामा
थाहा पायौ कि पाइनौ आमा,
तिमी पटक पटक
आफ्नै जन्म घर बाट
बलात्कृत भयौ !
पहिलो पटक रगत बग्दा
गोठको कहालीलाग्दो बास
हजूरबाकी नयाँ स्वास्निको बचन अनि
तिम्रो आंशु मिसिएको गांस,
बैंशले अनमत्त र्याले सिंगाने हरुले
एक्ली टुहुरीबाट गर्ने घिनलाग्दो आस !
हुर्किंदै गरेका कोमल अंगमा
हेपेर गरिने त्यो छेड़खानी
एक्ली बेसहारा किशोरी संग
क्रूर समाजको त्यो मनोमानी !
थाहा पायौ कि पाइनौ आमा
तिमी कैयौं पटक
तिमी बस्ने समाजबाटै
बलात्कृत भयौ !
पन्ध्र नपुग्दै तिम्रो घर फेरियो
संसार नजान्दै तिम्रो थर फेरियो
खै कस्तो परिभाषा थियो भाग्यको त्यो,
रिसले भने वा आरीसले भने
भन्नेले चाहिं भने-सौभाग्यले पायौ रे
अभागी तिमीले ठूलो घर पायौ रे !
घर त फेरियो आमा, कर्म फेरिएन
ज्यान पनि फेरियो आमा,मर्म फेरिएन
ठूलो घर, ठूला मान्छे !
ठूलो खान्की, ठूलै बान्की !
माथि सम्म चिनेका,
वक़ील डाक्टर किनेका
कति पटक तिमीले अथ्कलो फाल्यौ
कति पटक नजन्माई दिदीहरु मार्यौ
अपराध के हो जानिनौ
तर अपराध हाँसी खुसी गरिरह्यौ ।
तिमी गल्यौ, तिमी जल्यौ
ऊठ्न खोज्दै गर्दा तिमी धेरै चोटी ढल्यौ
धेरै कुरा सुन्यौ तिमीले धेरै आंशु बगायौ
रगत त कति कति,ममताको सिंगो समुद्र बगायौ
अनि बल्ल तल्ल जीवित दुई स्त्रीलिंग पछि
वंश धान्ने भनिएको पुलिंगलाई जन्मायौ !
नढांटी भन त आमा,
तिमीलाई के साँच्चै
अनुभूति नै भएन,
यो ठूलो कस्मेटिक सहरमा
दुनियाँले तिमीलाई भाग्यमानी देख्ने
यो क्रूर कर्म घरमा
मलाई जन्माउन,
मेरा बा को वंश बँचाउन,
तिमी को को बाट,
कहाँ कहाँ,
कसरी कसरी,
कति पटक बलात्कृत भयौ ??!!
टोकियो (२०१७/०६/०२)
0 प्रतिकृया