लघुवित्त विरूद्ध अराजक गतिविधि नराेकिए सेवा बन्द गर्ने चेतावनी
एक्सन खबर
काठमाडाैं, ११ असार । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरू विरुद्ध अराजक गतिविधि चलिरहे सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार नेपाल लघुवित्त बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
संघका महासचिव रामबहादुर यादवले लघुवित्तविरुद्ध अराजक गतिविधि सञ्चालन भइरहेकाे जनाउँदै कर्जा तिर्छु भनेर आउनेलाई पनि ऋण मिनाहा हुन्छ भनेर दुष्प्रचार भइरहेको जिकीर गरे । ‘यस्तै अवस्था रहे हाम्रो सबै सेवाहरू बन्द गर्नुपर्ने अवस्था आउनेछ ।'
संघले लघुवित्त क्षेत्रमा अराजक गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने बताएकाे छ ।
देशको संवैधानिक कानूनभित्र रही सञ्चालन गरिएका व्यवसायमा प्रत्यक्ष आँच पुऱ्याउने, लाखौं जनताको बैंकिङ्ग प्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने गैर कानूनी गतिविधिहरु भैरहेकाे जनाउँदै स्वार्थ समूहको आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन माग गरिएकाे छ ।
संघले देशका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणको लागि ज्ञापनपत्र पनि बुझाएको छ । मनिराम ज्ञवालीसहितका व्यक्तिहरुको नेतृत्वमा भएको ऋण नतिर्ने आन्दोलन नरोकिएपछि संघले प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएकाे हाे ।
0 प्रतिकृया