Follow us:


Follow us

४ असोज २०८३, आइतवार
४ असोज २०८३, आइतवार


गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग्दा प्रतिसाेध साँधियाेः सांसद सुनिल शर्माकाे सचिवालय

एक्सन खबर
साउन, २५, २०८०


गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग्दा प्रतिसाेध साँधियाेः सांसद सुनिल शर्माकाे सचिवालय

काठमाडौं, २५ साउन । क्विन्टल सुन तस्करी प्रकरणको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएकाे उनकाे सचिवालयले दाबी गरेको छ । आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै डा.सुनिल शर्माको सचिवालयले प्रतिशोध साँध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको दाबी गरेको हो ।

सुन तस्करी प्रकरणमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । उनले भाेलीबाट संसदमा आमरण अनशन बस्ने तयारी समेत गरेका थिए ।

संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नलिई पक्राउ गरिएको भन्दै सचिवालयले विरोध समेत गरेको छ । ‘सुन तस्करीको बिषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी सीआइबीले क्रुरतापूर्वक  पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जनताको पक्षमा आवाज उठाउँदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसइबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउँदै प्रजातन्त्रको मर्म बिपरित सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरूलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियत देखिएकाे सचिवालयकाे भनाइ छ ।

बिहीबार अपरान्ह नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले राजधानीबाट उनलाई पक्राउ गरेको हो । सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ । प्रमाणपत्र कीर्ते गरेको आरोपमा सीआईबीले बिहीबार शर्मासहित ५ जनालाई पक्राउ गरेको छ ।













0 प्रतिकृया