एमाले कोशी प्रदेशको अधिवेशन आजबाट
एक्सन खबर
मोरङ, १२ असोज । नेकपा (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशन आजबाट प्रदेशको राजधानी विराटनगरमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । मिसन २०८४ लाई केन्द्रविन्दुमा राखेर एमालेले सातै प्रदेशको अधिवेशन गरिरहेको छ ।
कोशी प्रदेशको नयाँ नेतृत्वका लागि एमाले भित्र दुई जना आकांक्षी देखिएका छन् । विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षका लागि प्रतिष्पर्धामा देखिएका छन् । यद्यपि, पार्टी अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोड दिएकाले सर्वसम्मतको पहल भइरहेको छ ।
प्रदेश अध्यक्षको आकांक्षीमा रहेका तुलसीप्रसाद न्यौपाने पछि हटेकाले अब विनोद ढकाल र घनश्याम खतिवडाविच प्रतिष्पर्धा हुने देखिएको छ । हालका उपाध्यक्ष टिका चेम्जोङले पनि इच्छा देखाएका छन् ।
अध्यक्ष ओलीले अधिवेशनमा प्यानल बनाउन रोक लगाएका छन् । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा एमाले केन्द्रीय कमिटी छ । प्रदेश अधिवेशनका लागि ९९७ जना प्रतिनिधि छनौट भइसकेका छन् । त्यसको ५ प्रतिशत करिब ५० जना भने मनोनयन गर्न बाँकी रहेको छ ।
कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।
अधिवेशन २४ गतेभित्रै सकिने तयारी रहेकाे एमाले काेशी प्रदेश इन्चार्ज रघुविर महासेठले जानकारी दिए । अधिवेशनमा काेशी प्रदेशकाे विवादित पहिचानकाे विषयले प्राथमिकता पाउने देखिएकाे छ ।
0 प्रतिकृया