Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


आजदेखि नवरात्र प्रारम्भ, घर–घरमा घटस्थापना गरिँदै

एक्सन खबर
असोज, २८, २०८०


आजदेखि नवरात्र प्रारम्भ, घर–घरमा घटस्थापना गरिँदै

काठमाडौं, २८ असोज । नेपालीहरूकाे महान चाड दसैं  आजदेखि प्रारम्भ भएको छ । आज दसैं (नवरात्र) काे पहिलाे दिन घर–घरमा घटस्थापना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडा दसैं धूमधामका साथ मनाइन्छ । बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएकाे छ । घटस्थापनाका दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ अर्थात् जमरा राख्ने गरिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ ।

नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ। यसैले भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ-आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन् ।

यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नवरात्रभर देशभरका देवी भगबतीका मन्दिरहरूमा विशेष पुजाअर्चना हुने गरेका छन् । यसअवधिमा नक्सालकाे भगवती मन्दिर, काभ्रेकाे पलाञ्चाेक  भगवती, सप्तरीकाे छिन्नमस्ता, धरानकाे दन्तकाली, दाेलखाकाे कालिञ्चाेक तथा ताप्लेजुङकाे पाथिभरा देवी मन्दिरमा विशेष पुजाअर्चना हुने गरेकाे छ ।













0 प्रतिकृया