Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छः मन्त्री भगबती चौधरी

एक्सन खबर
बैशाख, ३, २०८१




आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छः  मन्त्री भगबती चौधरी

सुनसरी । आध्यात्मिकताले समाजको शुद्धीकरण गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र चतरा धाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले आध्यात्मिकताले समाजको सुद्धीकरण गर्ने बताउनु भएको हो ।

आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि आध्यात्मिक कुराहरू सुन्न लागिरहेको बताउँदै मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले समाजलाई परिवर्तन गर्न सक्ने जिकीर गर्नुभयो ।

नेपाली भूमि हिन्दु सनातनीहरूको पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु धर्मग्रन्थहरूमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतराधाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

‘धर्मकर्म, आध्यात्मिकले परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौं भन्ने आशा, भरोसा र आस्था मात्रै जगाउँदैन । अहिलेको समाजमा विद्यमान तडकभडक, अस्वस्थ प्रतिष्पर्धालाई चीर्नका लागि समाजका हरेक वर्ग, समुदाय, राजनीतिज्ञ, व्यवसायीमा धार्मिक आचरण हुनुपर्छ भन्ने सिकाउँछ ।’ हरेक व्यक्तिमा धार्मिक आचरण भए समाजमा प्रदूषित तरिकाले भइरहेको प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गर्दै भन्नुभयो ।

स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनुभयो ।

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटन सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘इतिहासको कालखण्डमा हाम्रा ऋषि मुनीहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ हो । भारतमा पनि हरेक १२ वर्षमा कुम्भ मेला लाग्छ । उक्त कुम्भ मेलामा आन्तरिक पर्यटक सँगै नेपालका विभिन्न ठाउँबाट समेत धार्मिक पर्यटकहरू पुग्छन् । नेपालमा पनि कुम्भ मेला लगाइरहँदा यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।’

बराहक्षेत्र महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उहाँले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘अहिले तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर यो ठाउँको विकासका निम्ति भूमिका खेल्नुपर्छ ।’ चतराधामको विकास, विस्तार, प्रवर्द्धन र सुरक्षा व्यवस्था बलियो बनाउनका निम्ति सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ ।

चतराधामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सके नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्वीहरूलाई आकर्षित गर्न सक्ने मन्त्री चौधरीको विस्वास छ, ‘हामी कसरी आर्थिक रूपले सम्पन्न हुन सक्छौँ भन्नेतर्फ अब ध्यान दिन आवश्यक छ ।’ भारतमा हिन्दु सनातनी धेरै भएको चर्चा गर्दै मन्त्री चौधरीले धार्मिक पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न सकेमा मुलुक आर्थिक रुपमा पनि सम्पन्न हुने जिकीर गर्दै भन्नुभयो ।

मन्त्री चौधरीले बराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मुलुककै ठुलो धार्मिक गन्तव्यको रुपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उहाँले चतराधामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजलाई शुद्धीकरण गर्नका निम्ति धार्मिक गुरु, अनुयायीहरूको पनि महत्‍वपुर्ण भूमिका हुने भन्दै मन्त्री चौधरीले हरेक टोलमा आध्यात्मिक केन्द्रहरू भए मानवमा सकारात्मक विचार पैदा हुने र सूसंस्कृत समाज निर्माण हुने बताउनु भयो ।

त्यस अवसरमा कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यले मन्त्री चौधरी अरू जस्तो प्रहरीलाई ढुङ्गा हानेर नेता भएको मान्छे नभएको भन्दै शिक्षित र योग्य नेता भएको बताउनु भयो ।
















0 प्रतिकृया