नेकका दुई टिम हल्ट प्राइजकाे अन्तर्राष्ट्रिय प्रतियोगितामा छनौट
एक्सन खबर
भक्तपुर । चाँगुनारायण स्थित नेपाल इन्जिनिरिङ कलेज (नेक) का दुईवटा टिमहरू अन्तर्राष्ट्रिय हल्ट प्रतियोगिताकोलागि छनौट भएका छन् । कलेजमा हालै सम्पन्न क्वार्टर फाइनल तहको हल्ट प्रतियोगितामा शिशी, ड्रक स्वाड र पिएस–३ नामक टिमहरू प्रथम, द्वितीय र तृतीय भएका थिए ।
ती मध्ये प्रथम भएको टिम शिशी भारतको मुम्बई शहरमा हुने क्षेत्रीय प्रतियोगितामा र वाइल्ड कार्ड अन्तर्गत छानिएको टिम पिएस–३ पाकिस्तानको इस्लामाबादमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुने कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रत्येक वर्ष अमेरिकामा सम्पन्न हुने हल्ट प्रतियोगिताको फाइनल तहसम्म पुग्न संसार भरिका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू बीच कडा प्रतिस्पर्धा हुने गर्दछ । फाइनलसम्म पुग्न प्रतिष्पर्धाका विभिन्न तहहरू जित्दै जानुपर्ने हुन्छ । प्रत्येक तहमा विद्यार्थीहरूले आआफ्नो सामाजिक उद्यमशीलताको विचारलाई देशका स्थापित पारखी उद्यमशील व्यक्तिहरूको मुल्याङ्कनको कसिमा उत्तिर्ण गर्न सक्नु पर्दछ।
वर्ष २०२२ को हल्ट प्रतियोगिता अन्तर्गत क्षेत्रीय प्रतियोगितामा सहभागी हुने अवसर विश्व भरिका विश्वविद्यालयहरूबाट भाग लिएका टिमहरू मध्ये पाँच प्रतिशतलाई मात्र प्राप्त भएको छ।
कोभिड-१९ को असरबाट विश्वको अर्थतन्त्र भताभुङ्ग भई धेरैले रोजगारी गुमाएकोमा अब कसरी विश्वलाई काममा फर्काउने भन्ने विषयमा केन्द्रित भई उत्कृष्ट अवधारणा श्रृजना गरी क्षेत्रीय प्रतियोगिता पार गर्न सक्ने टिमहरूलाई जुन २० देखि जुलाई ८ सम्म भर्च्युअल रूपमा र जुलाई २५ देखि अगस्त १२ सम्म अमेरिकाको बोष्टन शहरमा भौतिकरूपमा हुने ग्लोबल आक्सेलेरेटर नामक ६ हप्ते कार्यक्रममा सहभागी गराइने छ।
उक्त कार्यक्रममा प्रत्येक टिमले देखाउने कुशलता मुल्याङ्कन गरी जम्मा ६ वटा टिमलाई न्यूयोर्क शहरमा हुने एक लाख अमेरिकी डलरको हल्ट प्राईज प्रतियोगिताकोलागि छनौट गरिने छ । फाइनलमा विजयी टिमलाई अमेरिकाका पूर्व राष्ट्रपति बील क्लिन्टनले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेकाे छ ।
प्रतियाेगिताकाे विजयी टीमले एक लाख अमेरिकी डलर राशीकाे पुरस्कार प्राप्त गर्नेछन् । प्रतिष्पर्धामा संयुक्त राष्ट्र संघको पनि पार्टनरसिप रहेकोले यसका विजेताले ठूलो अर्थ राख्छन् । स्नातक वा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको स्टार्टअप विजनेश आइडिया, खोज तथा अनुसन्धानलाई अन्तराष्ट्रियकरण गरी तीनको प्रयोग गराउनु हल्ट प्राइजको लक्ष्य हो ।
0 प्रतिकृया