Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे कारणबारे जवाफ दिन सरकारलाई निर्देशन

एक्सन खबर
असार, ६, २०७९


पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे कारणबारे जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।

सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

बैठकमा एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताए । ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको विकासमा समय खर्चनु उपयुक्त हुने उनको भनाइ छ ।

दक्षिण एसियाकै अनुसन्धान  क्षमता र कार्यसम्पादन दक्षता उत्कृष्ट रहेको नेपाल प्रहरीको साख राजनीतिकरणले गिरेको भन्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्न र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन् ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सांसद सिलवालले भने, ‘ युएनको एउटा अध्ययनले भनेको छ, सार्कमा सबैभन्दा राम्रो अनुसन्धान गर्न सक्ने क्षमता र दक्षता भएको नेपालको प्रहरी  हो । यो अभिलेखीकरण भएको छ । यस्तो प्रहरीलाई राजनीतिकरण गरिएको छ । मनखुसी बढुवा, सरुवा गरिएको छ । आ–आफ्नो मान्छे चापेको छ । प्रहरीलाई सक्षम र सवल बनाउनुहोस् । प्रधानमन्त्रीले डीएसपी, डीआईजी र आइजी बढुवा गर्नेमा लाग्ने होइन, मुलुकको समृद्धिमा लाग्ने हो ।’

 













0 प्रतिकृया