सभापति देउवाकाे एकलाैटी विरूद्ध डा. शेखर पक्ष आक्राेशित, बाेलायाे गुटकाे भेला
एक्सन खबर
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलाैटी रूपमा पार्टी सञ्चालन गरेपछि आक्राेशित डा. शेखर काेइराला पक्ष देउवा विरूद्ध कठाेर बन्ने देखिएकाे छ । नेता डा. शेखर कोइराला समूहले देउवाकाे एकलाैटी प्रवृत्ति विरूद्ध बिहीबार बैठक बाेलाएकाे छ । समूहको बैठक बस्न लागेको कोइरालाको सचिवालयले समेत जनाएको छ ।
शेखर समूहले निर्वाचन समीक्षा, भ्रातृ संस्थामा देउवाले गरेकाे एकलौटी मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको बताएकाे छ । स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे अहिलेसम्म समिक्षा र छलफल समेत भएकाे छैन ।
त्यसाे त पार्टीमा देउवाले एकलाैटी गरेकाे आराेप लाग्दै आएकाे छ । जुन अस्वभाविक पनि देखिएकाे छैन । देउवाले चार वटा भ्रातृसंस्थाका अध्यक्षहरूको मनोनयन गर्दा शेखर पक्षका नेतासँग छलफल गर्नसमेत गरेनन् । तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा पनि देउवाले शेखर पक्षलाइ समेट्न आवश्यक ठानेनन् । शेखर पक्षलाई तरुण दल र नेविसंघमा समानान्तर समिति बनाउन लगातार दवाव परेतापनि उनीहरूले आँट गरेनन् ।
भातृ संगठनहरूमा एकलाैटी निर्णय गर्दा देउवाकाे विराेध भएपछि उनले अब सबै पक्षसँग छलफल गरेर काम गर्ने बताएता पनि कार्यान्वयनका सन्दर्भमा शेखर पक्षलाइ वाइपास गर्दै लगे । यतिमात्र हैन, देउवाले किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनयन गर्दा पनि शेखर पक्षका पदाधिकारीहरूसमेतसँग सल्लाह नगर्दा पार्टीमा अन्तरकलह बढेकाे छ ।
देउवाले एकलौटी ढंगले किसान संघ र आदिवासी जनजाति संघका अध्यक्ष मनोनयन गरेको भोलिपल्टै शेखर पक्षका युवा नेताहरूको बैठक बसेको थियो । शेखरकाे सचिवालय बालुवाटारमा बसेकाे बैठकले सभापतिले शेखर पक्षलाई पेलेर अगाडि जान खोजेकोले अब सबै भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिमा समानान्तर समिति बनाएर जानुपर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुपर्ने सम्मको निष्कर्ष निकालेकाे थियाे ।
शेखर पक्षकाे भेलाले देउवाका एकलाैटी निर्णय विरूद्ध सशक्त रूपमा प्रतिकार गर्दै अगाडी बढ्ने निर्णय गर्न सक्ने बताइएकाे छ ।
विधानतः महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने भए पनि देउवाले चासाे दिएका छैनन् । कांग्रेसको १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।
0 प्रतिकृया