Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा छुटे

एक्सन खबर
साउन, ४, २०७९


पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा छुटे

कुलप्रसाद काफ्ले

चितवन ३ साउन । चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखसहित आठ कर्मचारी धरौटीमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटी लिएर छाडेका हुन् ।

पत्रकार आचार्यको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले आठ कर्मचारी विरुद्ध आइतबार अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको थियो ।

आचार्यले वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए ।

मदिराको नशामा मातिएर पत्रकार कुट्ने वितरण केन्द्रका कर्मचारीको बचाउमा अरु कर्मचारी लागेका छन् । उनीहरुले मंगलबार विद्युतको कामकाज ठप्प पार्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासम्म दिए ।

कामकाज ठप्प पारेपछि मंगलबार चर्काे घाममा सेवा लिन वितरण केन्द्रमा पुगेका सेवाग्राही त्यसै फर्किन बाध्य भए । ३१ असारको दिन वितरण केन्द्रको कार्यालयभित्रै कर्मचारीले मदिरा सेवन गरेको सूचना पाएपछि पत्रकार आचार्य रिपोर्टिङका लागि कार्यालय पुगेका थिए । त्यसदिन भरतपुरका अधिकांश स्थानमा मर्मतका लागि भन्दै विद्युत लाइन काटिएको थियो ।

पत्रकार आचार्यले मदिरा सेवन गरेको फोटो खिचेको थाहा पाएपछि वितरण केन्द्रका प्रमुख सिंहको निर्देशनमा मदिरामा मातिएका कर्मचारीले आचार्यलाई लखेटी लखेटी कुटेका थिए । पर्खाल नाघेर भागेका पत्रकार आचार्य नजिकैको चितवन पोष्ट दैनिकको कार्यालयमा पुगेर बाँच्न सफल भएका हुन् ।

 













0 प्रतिकृया