Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


राष्ट्रिय सभामा नागरिकता विधेयकः कसले के भने ?

एक्सन खबर
साउन, ९, २०७९


राष्ट्रिय सभामा नागरिकता विधेयकः कसले के भने ?

काठमाडौं, ९ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्बन्धित् देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित् देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।

उक्त विधेयक नागरिकता पाउन नसकेका नागरिकका लागि आवश्यक रहेको भन्दै उनले विश्वभर कोही पनि अनागरिक भएर बस्ने अवस्था रहन नहुने बताए ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयकले विवाह गरी आएकी विदेशी महिलालाई तुरुन्तै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । साथै गैरआवासीय नेपालीलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि गर्न पाउने गरी नागरिकता पाउने व्यवस्था पनि सो विधेयकमा व्यवस्था गरिएको छ ।
 
राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरुले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाइन् । ‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई गरेको छ । संसदको अवमूल्यन गरेको छ । गठबन्धनका दलहरुका नेताहरुले बलमिच्याँइ गरेका छन्,’ डा. पौडेलले भनिन् ।

उनले विधेयकको प्रक्रियामा समेत प्रश्न गरिन् । उनले अगाडि भनिन्, ‘जुन तरिकाले प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ ।’  नागरिकता विधेयकमा छोरा र छोरीलाई विभेद गरिएको समेत उनले जनाइन् ।

‘विधेयकमा एकल आमाका सन्तानलाई नागरिकता दिने कुरा छ, जसका कारण यो विधेयक फिर्ता गर्न हामीलाई अप्ठेरो छ । तर विधेयकमा अंगीकृत नागरिकता किन विवाह गरे लगत्तै दिने, यो सरकारले स्पष्ट पार्नु पर्छ,’ उनले भनिन् ।

दक्षिण एसियाली अन्य देशमा अंगीकृत नागरिकता विवाह गरेको दुई देखि सात वर्षपछि मात्र दिने व्यवस्था रहेको समेत उनले बैठकमा स्मरण गरिन् । ‘विधेयकमा विभेद छ । छोराले विदेशी बुहारी ल्याउने वित्तिकै नागरिकता पाउने, छोरीले विहे गरे नपाउने ?,’ उनले प्रश्न गरिन् ।

यस्तै, सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नु पर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने ।

विश्वका कुनै पनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने उनले बताए । नागरिकता सम्बन्धी विधेयक छलफलको लागि आज गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा पेश गरेका छन् । सही विधेयकमाथि छलफलका क्रममा दाहालले विधेयकमा केही कुरा थप्न भनेका हुन् ।

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री


गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताए । राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए ।

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए ।

विधेयकमा केही कमीकमजोरी भएपछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए ।













0 प्रतिकृया