Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले २२ दिने चुनावी अभियान थाल्ने

एक्सन खबर
साउन, २३, २०७९


प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले २२ दिने चुनावी अभियान थाल्ने

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सुरु भएको बैठक चार घन्टासम्म चलेको थियो । सिट बाँडफाँडबारे छलफल गर्न बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाका अनुसार कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन् ।

कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।

पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसकाे बैठक बालुवाटारमा

पार्टीको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए । सो निर्णलगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।

असारसम्म पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुने गरेका थिए । प्रायः बैठक उनले सानेपामै बस्ने गरी डाकेका थिए । तर, अहिले फेरि उनी पुरानै बाटोमा फर्किएका छन् । अर्थात् पार्टीको बैठक बालुवाटारमै डाक्न थालेका छन् । जसअनुसार सोमबार कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एमाले र तत्कालीन नेकपाको प्रायः सबै बैठक बालुवाटारमै राख्ने गर्थे । जसकारण राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरेको थियो । बालुवाटारबाटै सरकार र पार्टी चलाएको भन्दै ओली निकै आलोचित भएका थिए । सर्वसाधारण जनता ओलीको सो निर्णयबाट निकै रुष्ट बनेका थिए ।

ओली यसरी आलोचित बनेको देखेपछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेका थिए । तर, पार्टी सभापति देउवाले सोमबार पहिलेको निर्णय लत्याएका छन् ।

स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राखेका हुन् । यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएका थिए ।
 













0 प्रतिकृया