Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


एमाले 'ब्रुस्ली' बन्न सक्छ कि सक्दैन ?

एक्सन खबर
साउन, २५, २०७९


एमाले 'ब्रुस्ली' बन्न सक्छ कि सक्दैन ?

काठमाडौं, २५ साउन । दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । लामो समय एकै दलमा सहकार्य गरेका र हाल एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहट पुगेर अध्यक्ष ओलीले यस्तो दाबी गरे ।

सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँटका लागि कार्यदल नै बनाएर अघि बढेपछि ओली गठबन्धनप्रति आक्रमक बनेका छन् । मंसिर ४ को निर्वाचनमा अध्यक्ष नेपाल उम्मेदवार बन्ने चर्चा चलिरहेको रौतहट पुगेर उनले नेपालको मात्र नभएर गठबन्धनको चर्को आलोचना गरेर आफ्नो दलले बहुमत ल्याउने दाबी गरे ।

'यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,' उनले भनेका थिए, 'आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।' तर, ओलीले भने जस्तो उनको दलले बहुमत ल्याउने सम्भावनालाई भने गठबन्धनले धक्का दिने देखिएको छ ।

१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा गत प्रतिनिधि सभा निर्वाचनमा ठूलो बनेको दल यसपटक कमजोर हुने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामहरुले पनि त्यसलाई नै देखाइरहेको छ ।

तर एमाले अध्यक्ष ओली गठबन्धन भए पनि आफूहरुलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भइरहेका छन् । कार्यकर्तामा उत्साह भर्न समकालीन नेतामा उनी अग्रस्थानमा आउँछन् । तर गठबन्धन भएको खण्डमा त्यसलाई परास्त गर्न उनको दलले चुनाव जित्ने जसलाई पनि उम्मेदवार बनाउने रणनीति बनाएको देखिएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंसिर ४ गते हुने निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् । चारै तिरबाट एमालेलाई घेराबन्दीमा पारिएको भन्दै घेराबन्दी तोड्न पार्टीभित्र एक हुनुपर्ने उनको भनाइ छ ।

त्यसोत चुनाव आउँन साढे तीन महिना भन्दा लामो समय छ । यसबीचमा देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था छैन । कुन दलको कुन दलसँग तालमेल हुन्छ र कसले कहाँ जित्छ भन्ने फैसला जनताको हातमा भएकाले यसै भन्न हतार हुने भए पनि पछिल्लो अवस्था एमालेलाई सहज भने देखिएको छैन ।

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ । आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र हुने निश्चित प्राय: छ ।

एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरिरहेको छ । तर त्यसको सम्भावना पनि लगभग सकिएको एमाले नेताहरुले बताएका छन् । लोसपासँग नेपाली कांग्रेसले कुराकानी गरिरहेको छ र छलफल सकारात्मक भएको देखिएको छ । यसअघि स्थानीय तहको चुनावमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको थियो । तर कमल थापाको दलको मत खासै देखिएको छैन । राप्रपाबाट विभाजित भएर बनेको राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा एमालेसँग रिसाएको छ ।

यसअघिको संघीय निर्वाचनमा ओलीले राप्रपाका हालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर कांग्रेसलाई पराजित गरेको थियो । त्यसैले राप्रपासँग तालमेल हुन सक्ने बालकोट निकटका एक नेताले बताए । तर यसमा एमाले ढुक्क छैन ।

कसैको साथ नपाउने भएपछि एक्लिएको एमाले अहिले गठबन्धनसँग एक्लै लड्न आफूहरु तयार रहेको र 'ब्रुस्ली' स्टाइलले जित्ने बताइरहेको छ । अध्यक्ष ओलीले फिल्ममा ब्रुस्लीले पहिला कुटाइ खाए पनि पछि खेलमा फर्किएको जस्तो एमाले पनि चुनावी मैदानमा फर्कने दाबी गरिरहेका छन् ।

सोमबार ओलीले उक कार्यक्रममा भनेका थिए, 'ब्रुस्लीसँग कहिले मोटा-मोटा, अग्ला-अग्लाहरूले खेलेको देख्नुभएको छ ? त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग ? ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन् । कहिले पछार्छन् । कहिले के गर्छन् । रगतपक्ष पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई । हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर निर्वाचन आयोगलाई भन्ने हो, ल तीन पटक ढ्यापढ्याप पार।'

ओलीले भनेजस्तो एमाले 'ब्रुस्ली' बन्न सक्छ कि सक्दैन त्यो भने चुनावी नतिजाले नै देखाउने छ ।













0 प्रतिकृया