Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


यसकारण जनैपूर्णिमा पुरूषहरूकाे लागि छ महत्वपूर्ण

एक्सन खबर
साउन, २७, २०७९


यसकारण जनैपूर्णिमा पुरूषहरूकाे लागि छ महत्वपूर्ण

सुरेशचन्द्र रिजाल
ज्योतिष तथा वास्तुविद्
यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ ।

तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्याधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ । चन्द्रमाले यस तिथिको स्वामित्व ग्रहण गर्ने भएकाले पनि पूर्णिमाको विशेष महत्व रहदै आएको छ ।

जसरी तीज पछिको ऋषिपञ्चमी महिलाका लागि जति महत्वपूर्ण मानिन्छ, पुरुषका लागि पनि त्यति नै महत्वपूर्ण पर्वका रुपमा यस दिनलाई लिइन्छ । पुरुषले जान (अन्जानमा वर्ष भरि गरेका कृत्याकृत्य कार्यहरूको प्रायश्चित्तका रुपमा श्रावण स्नानको विशेष महत्व शास्त्रमा उल्लेख्य गरिएको छ। श्

रावण शुक्ल चतुर्दशीका दिन चोखनीतिका साथ मुण्डन गर्दै एक छाख खाई पूर्णिमाका दिन गुरु, शिष्य लगायतका अन्य व्यक्ति सामूहिक रुपमा नदी, पोखरी, तलाउ, कुवा वा ईनार आदि गरिएका पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, बास्नादार फूल, दूबो प्रयोग गर्दै स्नान गर्नुपर्ने शास्त्रीय नियम रहिआएको छ ।

स्वास्थ्य विज्ञानका आधारमा उक्त स्नानमा आध्यात्मिकतका साथ निरोगीता र आयुर्वेदिक प्राकृतिक चिकित्सा पद्धतिका रुपमा व्याख्या गरिएको छ । सामूहिक सहभागितामा तीर्थ प्रार्थना सहित विधि पूर्वक स्नान गरिने हुनाले श्रावणीस्नान भनेर व्याख्या गरिएको छ ।

विशेषगरी वैदिक बिधिअनुसार शास्त्रीय नियममा रहेर बनाईएको जनै धारणगरी  रक्षा बन्धन लगाएमा विभिन्न प्रकारका बन्धनबाट मुक्त हुनुका साथै सम्पूर्ण समस्या हट्ने  शास्त्रमा व्याख्या गरिएको छ।

‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

‘जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । वैदिक परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएको छ । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने हातका नाडिमा दीर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ । यो बर्ष शनि, बृहस्पति तथा मंगलग्रह एकसाथ बलियो अवस्था भएका समयमा जनैपूणिर्मा तथा गाईजात्रा परेकाले विशेष सकारात्मक रुपमा हेरिरहेको छ ।



 













0 प्रतिकृया