राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक भोलि हुबहु पारित गर्ने तयारी
एक्सन खबर
काठमाडौं, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको संभावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।
सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन् । पहिलो–सदनमै पुनर्विचार गर्ने । दोस्रो–संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने ।
राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् ।
नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन् । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ ।
सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।
तर, सरकारले भाेली नागरिकता विधेयक हुबहु पारित गर्ने तयारी गरेकाे छ । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले सन्देश सहित पुनर्विचारका लागि विधेयक फिर्ता गरेकाले संसदले त्यसलाइ संवाेधन गर्नुपर्ने अडान राखेकाे छ । अहिलेकै अवस्थामा विधेयक पारित गर्न नहुने एमालेकाे धारणा छ । उसले विधेयक जस्ताकाे तस्तै पठाए प्रतिवाद गर्ने समेत बताएकाे छ ।
0 प्रतिकृया