Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


बढ्दो कोरोना संक्रमणका कारण परीक्षण दायरा वडासम्म पुर्‍याउने निर्णय

एजेन्सी
भदौ, २, २०७९


बढ्दो कोरोना संक्रमणका कारण परीक्षण दायरा वडासम्म पुर्‍याउने निर्णय

खाेटाङ, २ भदाै ।  कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।

बैठकले बिहिबार दिक्तेलस्थित सरस्वती माबि, पञ्च माबि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टीजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र आवश्यकताको आधारमा अन्य शैक्षिक संस्थामा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यस्तै, गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार तीन दिनभित्र आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कोभिड–१९ को संक्रमण दर बढेसंगै कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले सार्वजनिक स्थल र भिडभाड हुने स्थानमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्क, स्यानीटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

यस्तै, विवाह, ब्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक पर्व, उत्सव मनाउँदा भौतिक दुरी कायम गर्न, मास्क तथा स्यानीटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।




  












0 प्रतिकृया