गिरीको निधनमा राष्ट्रपति प्रधानमन्त्रीद्धारा दु:ख ब्यक्त, आजै अन्त्येष्टि
एक्सन खबर
काठमाडौं, ५ भदौ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेकी छिन् । गिरीको निधनले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन ।
‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाए ।
'नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
गिरीको अन्त्यष्टी आजै गरिने भएको छ । नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९:०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ ।
त्यसपछि विहान ११:३० देखि २:०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा पुर्याइनेछ ।
0 प्रतिकृया