‘कानुन मान्छु, सबै सामना गर्छु’ सन्दीप लामिछाने
एक्सन खबर
काठमाडौं, २४ भदौ । राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । बलात्कारको आरोप लागेका लामिछानेले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि बताएका छन् ।
लामिछानेले ट्वीट गर्दै उक्त कुराकाे निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ ।
पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।
लामिछानेलाई एक १७ बर्षीय किशाेरीले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा पटकपटक जबरजस्ती करणी (बलात्कार) गरेकाे नेपाल प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ ।
‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’ करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ ।
0 प्रतिकृया