नेपाल इन्जिनियरिङ कलेजलाई प्रदेशकै विश्वविद्यालय बनाउन शिक्षामन्त्रीको जोड
काठमाडौं, ३१ भदौ । नेपाल इन्जिनियरिङ कलेजलाई स्थायित्व प्रदान गर्न शिक्षामन्त्री देवेन्द्र पौडेल र चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीविच भेटवार्ता भएको छ । सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भइ सञ्चालित कलेजलाई चाँगुनारायण नगरपालिका मार्फत सञ्चालन गर्ने निर्णय भएकोमा त्यसलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयमा शिक्षामन्त्री पौडेलसँग कुरा भएको हो ।
बिहीबार भएको भेटबार्तामा शिक्षामन्त्री पौडेलसँग नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिक शैक्षिक संस्थाकै रुपमा राखेर अगाडी बढाउन सकारात्मक कुरा भएको मेयर खत्रीले बताए । उनले कलेजमा पछिल्लो समय देखिएको विवाद र सर्वोच्च अदालतमा विचाराधिन मुद्दाका सन्दर्भमा पनि छलफल भएको बताए । ‘नेपाल इन्जिनियरिङ कलेजको बर्तमान अवस्था, समस्या र कानुनी अड्चनहरुका बारेमा छलफल भयो । मन्त्रीज्यूले अहिलेको शिक्षा नियमावली अनुसार नगरपालिकाले माध्यामिक तहसम्म मात्र हेर्ने अधिकार भएकोले बरु प्रदेशकै विश्वविद्यालयका रुपमा लैजाने कि भन्ने कुरा गर्नुभयो ।’ मेयर खत्रीले भने ।
मेयर खत्रीका अनुसार आइतबार पुनः नेपाल इन्जिनियरिङ कलेज सञ्चालनका सन्दर्भमा छलफल हुने समेत बताए । कलेजलाई सामुदायिक रुपमा प्रदेशको विश्वविद्यालयकै रुपमा लैजान मन्त्री पौडेलको जोड रहेको उनको भनाई छ ।
यस्तै भेटवार्ताको क्रममा नगरपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउने सवालमा पछि छलफल भएको बताए । मन्त्री पौडेलले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको जिकीर गरे ।
२०६० सालमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ता भइ सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई व्यक्तिगत बनाउन तत्कालिन सञ्चालक मध्येका लम्बोदर न्यौपाने हात धोएर लागेका छन् । कलेजको करोडौं रकम अपचलन गरी सम्पत्ति सुद्धिकरण गरेको मुद्दा समेत खेपिरहेका न्यौपानेले कलेज हत्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको सार्वजनिक भएको थियो । त्यसपछि सोहि प्रकरणमा आयोगले घुस दिने र लिने दुवैलाई विगो सहित कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेकोमा अहिले त्यसको अन्तिम सुनुवाईको तयारी भइरहेको छ ।
हाल कलेज शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका मेयरको अध्यक्षतामा गठित बोर्ड मार्फत चलिरहेको छ भने, नगरपालिकाले उक्त कलेज सञ्चालनका लागि ऐन समेत पास गरी कार्यान्वयनको चरणमा रहेको छ ।
0 प्रतिकृया