डेंगुको उपचारमा नेपाल मेडिकल कलेजको व्यवस्थापनबाट नगरपालिका सन्तुष्ट
एक्सन खबर
काठमाडौं, २१ असोज । राजधानीमा डेंगुको प्रकोप बढेसँगै निजी तथा सरकारी अस्पतालहरुमा डेंगुका बिरामीहरुको संख्या बढ्दो छ । सरकारी अस्पतालमा वेड नपाएर निजी अस्पतालमा समेत डेंगुका बिरामीहरु भरिन थालेका छन् ।
गोकर्णेश्वर नगरपालिका, जोरपाटी अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा पनि डेंगुका बिरामीहरु उपचारका लागि भर्ना भएका छन् । कलेजले डेंगु बिरामीको उपचारका लागि विशेष व्यवस्थापन गरेको पाइएको छ ।
शुक्रबार गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले कलेजको अनुगमन गर्दै डेंगुका बिरामीको उपचारमा नेपाल मेडिकल कलेजले निर्वाह गरेको भूमिका प्रति कृतज्ञता व्यक्त गर्दै नगरबासीको स्वास्थ्यप्रति नगरपालिका संवेदनशील रहेको बताए । साथै, उनले नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न कलेजसँग नगरपालिकाले सहकार्य गर्ने पनि बताए । डेंगुको प्रकोपबाट बच्न तथा डेंगुका बिरामीको सहज उपचारका लागि कलेजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
सो क्रममा कलेजका अस्पताल इन्चार्ज दीलिप साहले कलेजले डेंगु रोगीको उपचारका लागि सतर्कता अपनाइएको जानकारी दिँदै अहिलेसम्म गरिएको उपचार व्यवस्थाको जानकारी दिए । डेंगु तथा कुनपनि सरुवा रोग र महामारी विरुद्ध स्थानीय तह सँगै सरकारका सबै निकायसँग सहकार्य गर्न नेपाल मेडिकल कलेज तयार रहेको बताए । ‘डेंगुको उपचारकालागि कलेजले आफ्ना जनशक्तिलाई पूर्णरुपमा प्रयोग गर्छ । साधन श्रोतले भ्याएसम्म डेंगु रोगीको उपचारमा हामी कुनैपनि कसर बाँकी राख्दैनौं ।’ अस्पताल इन्चार्ज साहले भने । डेंगुका बिरामीको उपचारमा विशेष व्यवस्थापन गर्न र जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आए कलेज तयार रहेको उनले जनाए ।
नेपाल मेडिकल कलेजले कोरोना महामारीको रोकथाम र उपचारमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीको पहिलो तथा दोश्रो लहरमा कलेजले स्थानीय तह र सरकारसग सहकार्य गरेर आवश्यक वेड, जनशक्ति तथा साधन श्रोत प्रयोग गरेको थियो ।
नगरप्रमुख रिसालले नगरको अर्को अस्पताल शंखरापुर अस्पतालको पनि अनुगमन गरेका थिए । नगर प्रमुखको टोलीमा नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरी प्रसाद उपाध्याय, नगर अस्पतालका प्रशासन प्रमुख टीकाराम खड्का लगायतको सहभागिता रहेको थियो ।
0 प्रतिकृया